सत्ता सहकार्यबारे वार्ता गर्न एमाले र जसपाबीच बन्यो संयुक्त कार्यदल

सत्ता सहकार्यबारे वार्ता गर्न एमाले र जसपाबीच बन्यो संयुक्त कार्यदल

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न ५ सदस्यीय संयुक्त कार्यदल बनिसकेको खुलासा भएको छ । मंगलवार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराएका हुन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको विषयमा प्रश्न उठेपछि ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराएका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई छन् । 

पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता टोलीका सदस्य रहेको ती सांसदले जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न राजपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।