काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको हितविपरित काम गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।आइतबार आफू पक्षका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालतर्फ संकेत गर्दै पार्टीको निर्देशनअनुसार काम नगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री अोलीले एमाले ब्यूँताएर संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् । उनले पार्टीमा फर्किनेलाई स्वागत गर्ने र पार्टी हित विपरित काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘सर्वोच्चको फैसलाले फेरी हामीलाई एकै ठाउँमा उभ्याएको छ । छिट्टै नै संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउँछु । बैठकपछि पार्टी नयाँ ढंगले अगाडि बढ्छ । साथीहरुले सोही अनुसारको तयारी गर्नुहोला । पार्टी हित विपरित काम गर्नेलाई कारबाही गरिनेछ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी प्रमुख सचेतक विशाल भट्टराईले भने ।
प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा ३० दिनभित्र विश्वासको मत लिने र सरकारबाट बाहिरिए इमान्दार भएर प्रतिपक्षको भूमिकामा बस्ने बताए ।