काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाका सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले आइतबारदेखि शुरु हुने संसद अधिवेशनमा नेकपा सांसदहरूको भूमिका कस्तो हुने भनेर प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरूलाई बैठकमा बोलाइएको बताए ।
उक्त बैठकमा एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दाबी गरे । उनका अनुसार नेकपा ओली समूहले डाकेको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी हुने भएका छन् ।
अध्यक्ष ओली स्वयं शुक्रबार उनको निवास गई गौतमलाई आजको संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । नेकपा विभाजित भएपनि गौतम कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा छन् । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई हिजो संसदीय दलको नेताबाट हटाएको थियो ।