काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए । उनले भने ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं ।’
उनले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताए। ‘सहिदको चाहना जनताको चाहना पूरा भएको छैन,’ उनको भनाइ थियो, ‘जीवनदान गर्छौं, सहिदको सपना पूरा गरेर छाड्छौं ।’ महासचिव विप्लवले राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताए ।
महासचिव विप्लवले नेपालका कम्युनिस्टहरु शान्तिका दूत पनि भएको उल्लेख गरे । ‘हामी कम्युनिस्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्,’ उनले भने ।