काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भोलि शुक्रवार सार्वजनिक हुने भएका छन् । शुक्रवार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा विप्लव सार्वजनिक हुने भएका हुन् ।
सरकार र विप्लव नेकपाबीच बिहीवार भएको वार्तामा ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने भएका हुन् । विप्लव सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच ३ बुँदे सहमति भएसँगै भोलि शुक्रवार सामूहिक समारोह हुने भएको छ । दुवै पक्षबीच भएको सहमतिपछि बिहीवार सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोली प्रमुख प्रवक्ता प्रकाण्डले संयुक्त प्रेस नोट जारी गरेका छन् ।
प्रेस नोटमा विप्लव शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले मुद्दा फिर्ता लिने बुँदा उल्लेख छन् । बालुवाटारमा बिहीवार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।