आज देशभरका अदालतमा शोक बिदा, नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

आज देशभरका अदालतमा शोक बिदा, नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए । उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो
देशभरका अदालतमा शोक बिदा हुने भएपछि नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिहीबार सुनाउने तय भएको थियो ।

गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेले अदालत गएका थिए ।