सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  सरकारी निवास लैनचौरमा भेटवार्ता गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि विघटित प्रतिनिधिसभाको अधिवेशन आगामी आइतबारदेखि शुरु हुँदैछ । प्रधानमन्त्रीको राजीनामादेखि उनीविरुद्धको अविश्वास प्रस्तावलगायतका विषयमा छलफल हुने ठानिएको संसदको आगामी बैठकलाई राजनीतिक रूपले निकै महत्वका साथ हेरिएको छ ।

सोही सन्दर्भमा भएको सभामुख सापकोटा र नेकपा अध्यक्ष दाहालबीचको भेटलाई निकै अर्थपूर्ण ठानिएको छ । भेटमा नेकपा (बहुमत)का स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए ।

स्रोतका अनुसार प्रचण्डले सभामुखसँग प्रधानमन्त्री केपी ओलीविरुद्ध पेश हुन लागेको अविश्वासको प्रस्तावबारे जानकारी  गराएका थिए । प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव पेश गर्ने र जसपाले पनि सघाउनेगरी वृहत सहमतिको प्रयास भैरहेको जानकारी दिएको बताइन्छ । 

साथै भेटमा ओलीले २३ गते नै संसद् अधिवेशन समाप्त गर्न सक्ने सम्भावनाको बारेमा पनि छलफल भएको थियो । २३ गते नै अविश्वासको प्रस्ताव पेश गरेर त्यस किसिमको बारो रोक्नुपर्ने सुझाव सभामुखले दिएको स्रोतले बतायो ।