पार्टी नाम र सूर्य चिह्न हामीले पाई सक्यौं, छिट्टै घोषणा हुन्छ : प्रचण्ड

पार्टी नाम र सूर्य चिह्न हामीले पाई सक्यौं, छिट्टै घोषणा हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्। उनले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए।

आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताए।

‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’

प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा निर्णय गर्न आग्रह समेत गरे। ‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो,’ उनले सो कार्यक्रममा भने।