काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।आज सिंहदरबारमा बसेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उक्त बैठकमा संसद अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गरिनेछ । बैठकको मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री केपी ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ ।