काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियताका लागि आफूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफ स्वयं लिएर बिहीबार अदालत पुगेका हुन्।
सो जवाफमा उनले भनेका छन्, ‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ,’ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा उल्लेख छ, ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैमा अत्यन्त आपत्तिजनक छ।’
सोही अनुरुप बिहीबार तीन पृष्ठ लामो लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ ।’