नेकपाका कुनै पनि गुटलाई आधिकारिकता दिएका छैनौं– निर्वाचन आयोग

नेकपाका कुनै पनि गुटलाई आधिकारिकता दिएका छैनौं– निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने स्पष्ट पारेको छ । शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताए ।

'आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,' आयुक्त पौडेलले भने, 'हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।'  उनले नेकपाको कुनै पनि समूहले आफू आधिकारिक हो भनेर अहिलेसम्म दाबी पेश नगरेको बताए । 

'राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हामीले गरेको निर्णय अभिलेखीकरण गरिदिनुस् भनेर दुवै पक्षबाट पत्र आएको थियो,' आयुक्त पौडेलले भने, 'पुस ५ गतेभन्दा पहिले पेश गरेको विधान र ७५ जेठ ३ गते जे विवरण थिए, ती सही छन् र बाँकी अपडेट गर्न सक्दैनौं भनेर हामीले भनिदिएको मात्र हो ।'  आधिकारिकताकै सवालमा सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै आयुक्त पौडेलले भने – 'आयोगले पार्टी फुटाउने हो र ?'

कुनै एउटा पक्षले आफूलाई आधिकारिक दाबी गर्दैमा त्यो कानून, विधान र संविधानसम्मत नहुने आयुक्त पौडेलको भनाइ थियो । आयुक्त पौडेलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केही दिनमै सूचना निकाल्ने तयारीमा आयोग रहेको प्रस्ट पारे । उनले आयोग निर्वाचनको तयारीका लागि पूर्ण रूपमा लागेको बताए ।