निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित, सूर्य चिन्ह अब कसैले खोस्न नसक्ने दाबी

निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित, सूर्य चिन्ह अब कसैले खोस्न नसक्ने दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने नेताहरुले बताए ।

पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य पनि आफ्नो हुनेमा प्रचण्ड नेपाल समूह ढुक्क देखिएको छ । 

प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । सोमबार प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि केही फरक नपर्ने बताए ।

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको भन्दै उनले भने, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’

ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै उनले अघि भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’