देश बिगार्न खोज्ने तत्वहरू मसँग भागीभागी हिँडिरहेका छन् : केपी ओली

देश बिगार्न खोज्ने तत्वहरू मसँग भागीभागी हिँडिरहेका छन् : केपी ओली

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएर भागीभागी हिँडिरहेका बताएका छन् । नेपाल नेत्रहीन संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूले लाठी लिएर नहिँडे पनि देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएर भागीभागी हिँडिरहेको बताएका हुन् । ओलीको आशय नेकपा विवादतर्फ संकेत थियो । 

‘म पनि किड्नी फेल भएर अर्को ल्याएको छु । फेरि त्यो किड्नी फेल भयो, नयाँ किड्नीको वैशाखी टेकेर हिँडेको छु । चस्मा लगाइनँ भने पढ्न सक्दिनँ, यो पनि एक किसिमको अपाङ्गता हो,’ ओलीले भने, ‘अर्को किड्नी लगाएर पनि बाँच्न सकिन्छ काम गर्न सकिन्छ भन्ने विश्वास हो । सायद विश्व रेकर्ड होला, २ वटा किड्नी फेरेको प्रधानमन्त्री भएको छु । लाठी लिएर हिँडेको छैन, किड्नी फरेपछि देश बिगार्न खोज्ने तत्वहरू भागीभागी हिँडिरहेका छन्, अपाङ्गता अलिकति कम–वेशी हो । अपाङ्ग होइनौ भन्ने ठूला–ठूला व्यक्तिहरू ठूलो अपाङ्ग हुन् ।’

प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोरजामको सरकार बनाएर स्थिरताको कुरा गर्नेहरू लोकतन्त्र विरोधी भएको टिप्पणी गरे । ‘प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?’ ओलीले भने, ‘अरुको लागि अरुको इशारामा काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुको विकल्प थिए ?’