चुनावी घोषणा–पत्र लेख्ने तयारीमा प्रधानमन्त्री ओली

चुनावी घोषणा–पत्र लेख्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका छन् । घोषित मिति अनुसार चुनाव हुन ३ महिना बाँकी रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओली घोषणा–पत्रको तयारीमा लागेका छन् । 

घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन ओलीले देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणा–पत्रमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरू तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन समेत निर्देशन गरिएको छ ।’

परिपत्रमार्फत ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् । परिपत्रमार्फत् माघ १५ गते प्रकाशित हुने मतदाता नामावली सच्याउने कार्यक्रममा सहभागी हुन निर्देशन दिइएको छ ।

निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने मिति तय गरेको छ । ‘सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ,’ परिपत्रमा उल्लेख छ ।