वैशाखमा निर्वाचन सम्भव छैन, संसद पुनःस्थापना हुनुपर्छः शशांक कोइराला

वैशाखमा निर्वाचन सम्भव छैन, संसद पुनःस्थापना हुनुपर्छः शशांक कोइराला

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे।

‘हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद पुनःस्थापना हु्नुपर्छ भन्ने हो।’ त्यसैगरी क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसकेको र अहिलेको राजनीतिक परिस्थितिले गर्दा पार्टी महाधिवेशन समयमा हुन नसकेको उनले बताए। 

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशील सदस्यको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’ मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको हो।