ओलीको मिसन हामीलाई फुटाउने र राजतन्त्र फर्काउने मात्र छः प्रचण्ड

ओलीको मिसन हामीलाई फुटाउने र राजतन्त्र फर्काउने मात्र छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए । उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए । उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

प्रचण्डले प्रधानमन्त्री ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको पनि बताए। उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो, त्यसका लागि उनी राजावादीसँग पनि मिलिसकेका छन्’, उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’