ओलीले स्पष्टीकरण दिएनन्, आजै साधारण सदस्यबाट हटाउँछौं : नेपाल

ओलीले स्पष्टीकरण दिएनन्, आजै साधारण सदस्यबाट हटाउँछौं : नेपाल

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएका कारण उनलाई कारबाही गरिने बताए ।

‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ।’

केही दिनअघि बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठकले महासचिवबाट विष्णु पौडेललाई हटाउँदै ओलीलाई ३ दिनको समय दिएर साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो। अध्यक्ष नेपालले तत्कालीन नेकपाको बहुमत आफूसँग रहेको बताउँदै आफूहरु आधिकारिक भएको दावी गरे। उनले बहुमत सदस्यले ओलीलाई गर्ने कारबाही वैधानिक हुने समेत दावी गरे।

उनले केपी ओली कम्युनिस्ट पनि नभएको बताए। उनले ओलीले आफूलाई पार्टी कमिटीभन्दा माथि ठानेपछि समस्या भएको बताए।
अध्यक्ष नेपालले प्रधानमनत्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको बताए।