प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने– 'वहाँलाई ज्वाई छोरीको मात्रै चिन्ता छ'

प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने– 'वहाँलाई ज्वाई छोरीको मात्रै चिन्ता छ'

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले नेकपाकै अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो परिवारका लागि मात्र सोचेको भन्दै कटाक्ष गरेका छन् । ओलीले अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् रु भन्दै प्रचण्डलाई प्रश्न समेत गरे ।

'केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् ।, छोरीलाई जिताउन मत पत्र च्यात्नै पर्‍यो । ज्वाइँ छन्, घर किन्दिनै पर्‍यो,' प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, 'बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।'

नेकपा ओली समूह निकट प्रेस संगठन सम्बद्ध पत्रकारहरूको राष्ट्रिय भेलालाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले थपे– 'मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई आफ्नै केटाकेटी ठान्छु । उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाका छोराछोरी छन् कि छैनन् ? अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ रे !'

साथै ओलीले कम्युनिस्ट पार्टीहरू जोडेर देश विकासमा समर्पित हुने बलियो पार्टी निर्माण गर्न खोजे पनि हुत्ती नभएको पार्टी बनेको बताए । 'मैले प्रयास गरेको थिएँ, लेफ्ट पार्टी जोडेर देशको विकासमा समर्पित होस्, आधुनिक, सभ्य र अरूले पनि आहा भन्ने देश बनाउने तर्फ लागोस्,' ओलीले भने, 'एउटा राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, हुत्ती नभएको पार्टी बन्यो ।'