नेकपा नाम विवादको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

नेकपा नाम विवादको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा सर्वोच्च अदालतमा नेकपा नाम विवादको मुद्दा पेशीमा चढेको छ। न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ। मुद्दा पहिलो नम्बरमै पेसी रहेको छ। यसअघि पुस १४ गते मुद्दाको पेसी थियो। उक्त दिन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासमा पेसी रहेकोमा पक्षका कानुन व्यवसायीले स्थगित गराएका थिए। 

२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै ऋषि कट्टेलले मुद्दा दायर गरेका थिए।  ३ वर्षदेखि विचाराधीन उक्त मुद्दा अन्तिम फैसलाका लागि पेसी चढिरहेको छ।  सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ। 

सर्वोच्चले हालसम्म सबै विपक्षीलाई अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न भनेकाले सबैले लिखित जवाफ पेश गरेका थिए। यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो।  सर्वोच्चले नेकपा नाम सत्तारुढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेस गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।

कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए।