भोलि चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्था आउन सक्छः रामचन्द्र पौडेल

भोलि चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्था आउन सक्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित विरोधसभालाई शनिवार सम्बोधन गर्दै पौडेलले प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरेका हुन् ।

वरिष्ठ नेता पौडेलले संविधानमा प्रधानमन्त्रीले प्रतिनीधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत बताए ।

वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि नभइ मुलुकलाई संकट तर्फ धकेल्नका लागि प्रधानमन्त्रीले संसद भंग गरेको आरोप लगाए । पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठुलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे । भोलि चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भन्ने उनको प्रश्न छ ।