काठमाडौं । नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएका छन् । नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिइ स्वदेश शनिबार फर्कनु भएका परराष्ट्र मन्त्री ज्ञवालीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सीमा समस्या छिट्टै समाधान गर्न दुवै देशले प्रतिबद्धता व्यक्त गरेको बताए ।
भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिइ परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकाहरुसँग बैठकका निर्णयहरुको बारे जानकारी गराउदै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको जानकारी गराए ।
बैठकमा राजनीतिक, सुरक्षा तथा सीमा, कनेक्टिभिटी पूर्वाधार एव आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति पर्यटन तथा शिक्षा लगायतका पाँच समूहमा दुईपक्षीय सहयोग प्रवर्द्धन गर्ने सहमति भएको छ । यसै गरी कोभिड भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देश बीच छलफल भएको र भ्याक्सिन सहयोगमा नेपाल प्राथमिकतामा रहने कुरा भारतले स्पष्ट पारेको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।
यसैगरी पञ्चेश्वर बहुदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, नेपाल भारतबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा समेत सहमति जुटेको छ । आयोगको सातौं बैठक नेपालमा आयोजना गरिने भएको छ । संयुक्त आयोग नेपाल भारत दुईपक्षीय सम्वन्धका सम्पूर्ण विषयहरु समीक्षा गर्ने परराष्ट्रमन्त्री स्तरीय संरचना हो । यसैबीच स्वदेश फर्किनुअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गरेका थिए । भेटमा नेपाल भारत बीच विविध विषयहरु लगायत अन्य समसामयिक विषयहरुमा विचारको आदान प्रदान भएको बताइएको छ ।