संवैधानिक इजलासका चार न्यायाधीशलाई प्रधानमन्त्रीले भेटेको खुलासा

संवैधानिक इजलासका चार न्यायाधीशलाई प्रधानमन्त्रीले भेटेको खुलासा

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा पालैपालो सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ। असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग गोप्य रुपमा भेटेका छन्।

प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा दिउँसो १ः२० बजेदेखि २ः४५ बजेसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदैछ। मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्। कार्की बाहिरिएपछि चार जनाको सैवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई समावेश गरेका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीले पुस २६ गते सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दिपक कार्की र मीरा खड्कासँग पनि भेटेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँग कार्की र खड्काले राति ८ बजेबाट ९ः१० बजेसम्म बालुवाटारमै भेटवार्ता गरेका थिए।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र प्रधानमन्त्री ओलीले संसद पुनस्थापना हुन नदिन सेटिङ मिलाइरहेको चर्चा भइरहेका बेला न्यायाधीशहरूले बालुवाटारमा पालैपालो भेटवार्ता गरेका हुन्।