ओलीलाई प्रचण्डको प्रश्न : के जनयुद्ध कुहिएकै फर्सी हो त ?

ओलीलाई प्रचण्डको प्रश्न : के जनयुद्ध कुहिएकै फर्सी हो त ?

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् ।

नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ?’

तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जामन्त्री तोपबहादुर रायमाझी लगायत नेताहरू ओलीतिर लागेका छन् । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो रु यदि त्यसो होइन भने यो बेइमानी हो ।’

कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरे । श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताएका हुन्।

उनले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्सलाई ओलीले पद प्राप्त गर्ने माध्यममात्र बनाएको आरोप लगाए।