निर्वाचन आयोगसँग प्रचण्ड–नेपालले मागे नेकपाका सबै कागजपत्र, छिटो आधिकारिकताको टुंगो लगाउन आग्रह

निर्वाचन आयोगसँग प्रचण्ड–नेपालले मागे नेकपाका सबै कागजपत्र, छिटो आधिकारिकताको टुंगो लगाउन आग्रह

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछि बुझाएका सबै कागजात माग गरेको छ। सोमबार निर्वाचन  आयोग पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनमा परेको रिटको अन्तिम सुनुवाई नगरेसम्म कुनै पनि निर्वाचनको कार्यक्रम अघि नबढाउन आयोगलाई सुझाव दिएको छलफलमा सहभागी स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।

‘निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भएको छलफलमा नेकपा एकता गर्दाखेरी पेश गरिएका सबै डकुमेन्ट माग गरिएको छ’, नेता पाण्डेले भने, ‘प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतमा परेको रिटको अन्तिम फैसला नभएसम्म कुनै गतिविधि नगर्न सुझाब पनि दिइएको छ।’

प्रचण्ड–नेपालले आयोगलाई आवश्यक भएका सबै डकुमेन्ट उपलब्ध गराउन तयार भएको भन्दै पार्टीको आधिकारिकताको टुंगो छिटो लगाउन पनि आग्रह गरेका थिए।