मरेको मान्छे बिउँझनु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने एकै हो : रायमाझी

मरेको मान्छे बिउँझनु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने एकै हो : रायमाझी

अर्घाखाँची । नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले मरेको मान्छे बिउँझन्छ भन्नु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्नु एकै भएको टिप्पणी गरेका छन् । अर्घाखाँचीको मालारानीमा नेकपाको ओली समूहले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा पुनःस्थापना अब केवल दिवास्वप्ना मात्र हुने दाबी पनि गरे । 

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्याउने उदेश्यले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले डिजाइन गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई असफल पारेको उनको भनाइ थियो । प्रचण्ड–नेपाल समूहले एकताको मर्म विपरीत पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाउँदै उहाँले पार्टी एकता विरोधीलाई कार्यकर्ता र नागरिकले बहिष्कार गर्ने पनि उनले बताए । 

रायमाझीले  प्रचण्ड–नेपाल समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए । ३३ वर्षसम्म  प्रचण्ड आफैं टीको लगाएर पार्टी  अध्यक्ष बनेको  भन्दै उनले  पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए ।