काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीबाट दुई तिहाई नजिकको जनमत प्राप्त गरेको पार्टी विभाजन नजिक पुगेपछि गौतमले नयाँ अभियान सुरु गरेका हुन् । नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पीडादायी भएको गौतमको भनाइ छ ।
एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने कार्य राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था रहेको गौतमले बताए। ‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले व्यहोर्नुपरेको छ,’ गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
गौतमले एक अर्कालाई दोष दिँदै, सामान्य मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सुरु भएको लडाईं बन्द गर्न अपिल गरेका छन् ।