देशभरिबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाल समूहलाई प्रधानमन्त्रीको चुनौति

देशभरिबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाल समूहलाई प्रधानमन्त्रीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले भने–तपाईहरु चुनाव लड्न किन डराउदै हुनुहुन्छ मलाई थाहा छ । दुई अंकमा जितेर देखाउनुस् । देशभरमा १० सिट ल्याएर देखाउनुस । म चुनौति दिन्छु ।

ओलीले ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जना पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गरे । उनले पार्टी छाडेर जाने भगौडाहरुलाई जनताले सजाय दिने बताए । ओलीले भने–छोरी वुहारी,भाइ भतिजा नाता परिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले ।

उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए। ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका भगौडाहरुको कुरा सुन्नु भएको होला’, उनले भने, ‘केन्द्रीय समित बैठकमा नआएर कहाँ गए भनेको त सडकमा बसेर हामी यहाँ छौं रे।’

उनले प्रचण्ड नेपाल बैठकमा नआउने, पत्रपत्रिकामा लेखाएर गाली गलौज गरेर हिँडेका आरोप लाए। उनले आफू देशको आधुनिकीकरण गर्न हिँडेका कारण गालीगलौज गर्ने फुर्सद नभएको बताए।