धनगढी । प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शुक्रवार पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली शुक्रवार कैलाली पुगेका छन् ।
धनगढीको खुलामञ्चमा आयोजना गरिएको सभालाई ओलीले दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयनजिक टायर बालेर प्रदर्शन गरेका हुन् । प्रचण्ड–नेपाल समूहमा लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थल गएनन् ।