काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको झण्डै एकदर्जन रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ शुरू भएको हो ।
संवैधानिक इजलासमा बहस शुरु भएको रिट निवेदक मध्येका एक अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए । शुरूमा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाएको छ। सर्वोच्चका अनुसार अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ भने नेपाल बार एसोसिएसन भित्रको हलमा इजलासको भिडिओ पनि लाइभ गरिनेछ।
यस्तै रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत्त पूर्ण इजलासमा हेर्न मागगर्ने तयारी गरेका छन् । विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायत १२ जना निवेदकले यो मुद्दा १२ जना भन्दा बढी न्यायाधीश भएको बृहत्त पूर्ण इजलासमा हेर्न सर्वोच्चमा निवेदन दिएका थिए ।
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्या भण्डारीको कदमविरुद्ध विभिन्न १२ वटा रिट दर्ता भएको छन् । पौष १० गते सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो ।