निर्वाचनको तयारीमा आयोग, मतदान स्थल र केन्द्र तोक्ने तयारी

निर्वाचनको तयारीमा आयोग, मतदान स्थल र केन्द्र तोक्ने तयारी

काठमाडौं । आगामी वैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधि सभाको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थल निर्धारणको काम तत्काल थाल्ने भएको छ । अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअगावै मतदान स्थल तथा मतदान केन्द्र तोकिसक्नुपर्ने भएकाले यही पुस २३ गतेबाट उक्त कार्य प्रारम्भ गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलवार विज्ञप्तिमार्फत जनाएका छन् ।

त्यसका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्यविधि, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत भइसकेको विज्ञप्तिमा उल्लेख छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको छ ।

आगामी माघ १७ गतेभित्रमा सम्पूर्ण कार्य सम्पन्न गर्न समितिलाई कार्यादेशसहित कार्यतालिका समेत स्वीकृत भएको आयोगले जनाएको छ ।