काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले चिन्ता थपेको बताएका छन्। जसपाले मंगलबार आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले अदालतमा प्रतिनिधि सभा विघटविरुद्ध परेको रिटमाथि अदालमा बहस चलिरहेको बेला प्रधानमन्त्री ओलीले पुनःस्थापना हुन नसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।
‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनुसार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सहभागी भएको अवस्थामा संसद् विघटन भयो’, यादवले भने, ‘त्यसपछि प्रधानमन्त्रीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिहरूले चिन्ता थपिएको छ।’
प्रधानमन्त्री ओलीलाई संविधानले संसद विघटन गर्ने अधिकार नदिएको भन्दै अध्यक्ष यादवले स्वैच्छाचारी रुपमा पार्टीको आन्तरिक कलहका कारण संसद विघटन गर्न नपाइने बताए।