काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच आज शीतल निवासमा भेट भएको छ । सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा आज साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको हो ।
दिउँसो पार्टीका शीर्ष नेता र मन्त्रीहरुसँग परामर्श गरेपछि ओली छलफलका लागि शीतल निवास पुगेका हुन । भेटमा पछिल्लो पटक विवादमा आएको संबैधानिक परिषद सम्बन्धी अध्यादेश र पार्टीभित्रको विवादमा सहमतिका लागि भएका प्रयत्नका विषयमा कुराकानी भएको बुझिएको छ ।
पार्टी स्थायी समिति बैठकले अध्यादेश फिर्ता गर्न निर्देशन दिए पनि प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढाएका छैनन । उनले राष्ट्रपतिसँग परामर्श गरेर विधयेक फिर्ता लिने विषयमा कुरा गर्ने आश्वासन दिएका थिए । अध्यादेश विवादले सत्तारुढ नेकपाको विवाद थप चुलिएको छ । संविधान मिचेर सरकारले अध्यादेश सिफारिस गर्दा पनि राष्ट्रपति भण्डारीले अनुमोदन गरेको भन्दै आलोचना भैरहेको समयमा भेटवार्ता भएको हो ।