काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले खुमलटारस्थित प्रचण्ड निवास पुगेर जारी विवाद समाधानको लागि लचक हुन तयार रहेको संकेत दिएका छन् । ओलीले सहमति खोज्न आफूले पार्टी अध्यक्ष पदबाट सशर्त राजीनामा दिन तयार रहेको बताएका छन् । उनले उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष बनाउने शर्तमा राजीनामा दिन तयार रहेको बताएको स्रोतको दाबी छ ।
यो प्रस्तावमा सहमति भए ओलीले अध्यक्ष छोड्ने र पुष्पकमल दाहाल प्रचण्ड तथा वामदेव गौतम दुई जना अध्यक्ष रहने हुन सक्छ।
विवाद निर्णायक मोडमा प्रवेश गरेका बेला सुरु भएको नेकपा स्थायी समितिको अर्को बैठक आइतबार बोलाइएको छ। सहमतिको स्पष्ट मार्गचित्र नदेखिएका बेला बालुवाटारबाट आएको यो नयाँ प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सकारात्मक रहेको दाबी गरिएको छ।
नेकपाभित्रको शक्ति सन्तुलनको आधारमा धेरैको अनुमान के छ भने यदि ओलीले अध्यक्ष छोडेको अवस्थामा त्यो पदमा वरिष्ठ नेता माधवकुमार नेपाल आउने छन्। त्यसैले ओलीले यसअघि गौतमलाई पटकपटक प्रधानमन्त्री बनाउने आश्वासन दिएजस्तै यो प्रस्तावमा पनि धेरैले गौतमलाई नजिक बनाउने अस्त्रको रुपमा बुझेका छन् ।