काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफैं पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका छन् । पार्टीभित्रको विवाद चर्किदै गएको बेलामा प्रचण्डले विशेष अधिवेशन बोलाउने तयारी गरेपछि उनलाई फकाउन ओली खुमलटार पुगेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली आफैं खुमलटार पुगेपछि नेकपाभित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी विभाजनको बलियो आधार तयार पार्न समानान्तर भेला, बैठक, छलफल गर्दै आएका नेकपाका नेताहरू चकित परेका छन् । उनले खुमलटारगमनलाई ओली लचिलो हुने सङ्केतका रूपमा बुझेका छन् ।
शुक्रबार साँझ ओली र प्रचण्डबीच अध्यादेश फिर्ताको विषयमा चर्काचर्की परेको थियो । प्रचण्डले ओलीलाई अध्यादेश फिर्ता नलिएमा संसदको विशेष अधिवेशन बोलाउने चेतावनी दिएका थिए । त्यष्सपछि ओलीले हिजो साँझ नै प्रचण्डलाई आफू भोलि चिया खाने गरी खुमलटार आउने र थप छलफल गर्ने बताएका थिए ।