काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। साँझ साढे पाँच बजे बालुवाटार छिरेका प्रचण्डले ओलीसँग साँझ साढे ६ सम्म एक्लै वार्ता गरेका थिए। अध्यादेश फिर्ता नगरे अझै कडा कदम चाल्ने चेतावनी पेरिसडाँडाबाट दिएका प्रचण्डले भेटका क्रममा ओलीसँग त्यही कुरा दोहोर्याएको स्रोतले जनाएको छ।
भेटका क्रममा यसअघि बुधबारको स्थायी कमिटी बैठकमा भएका सहमति कार्यान्वयनबारे प्रचण्डले कुरा उठाएको स्रोतले जनाएको छ। बुधबार बसेको स्थायी कमिटीको निर्णयानुसार ओलीले अझै पनि मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरेका छैनन्। पेरिसडाँडामा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसहितको भेलामा पनि अध्यादेश फिर्ता नभए थप कडा कदम चाल्ने चेतावनी नेताहरुले दिएका थिए।
दाहाल(नेपाल पक्षले अध्यादेश फिर्ता नभएमा फेरि संसदको विशेष अधिवेशन माग्दै राष्ट्रपतिकहाँ निवेदन लिएर जाने रणनीति बनाइरहेका बेला दुई अध्यक्षबीच संवाद भएको हो। प्रचण्डसँग यसअघि भएको भेटमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक पटक संवाद गरेर अध्यादेश फिर्ता गर्ने बताएका थिए।