काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे बस्ने गरी बालुवाटारमा बोलाएको बैठक स्थगित गरेका हुन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि ओलीले बैठक स्थगित गरेको बालुवाटार स्रोतले जानकारी दियो।
प्रचण्ड र वरिष्ठ नेता मावधकुमार नेपाल पक्षसँगको बुधबार गरेको सहमतिलाई तोड्दै ओलीले बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेका हुन्। बुधबार स्थायी समिति बैठक अघि ओली र दाहालबीच मंगलबार जारी भएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश फिर्ता लिने र दाहाल–नेपाल पक्षले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पेश भएको पत्र फिर्ता लिने दुई बुँदे सहमति भएको थियो।
सहमति विपरीत ओलीले फेरि बैठक बोलाएपछि नेकपामा हल्लीखल्ली मच्चिएको थियो। प्रचण्डले ओलीलाई अभ्यादेश फिर्ता नभई परिषद्को बैठक बसेमा सहमतिबाट पछि हटेको अर्थमा बुझ्ने चेतावनी दिएपछि ओलीले बैठक स्थगित गरेको स्रोतको दाबी छ ।