काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज बिहीबार साँझ बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्। मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म बैठकमा विपक्षी दलको नेता सहभागी नहुने कांग्रेसको अडान छ।
यता, सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा नजाने तयारीमा छन्। ‘अध्यादेश फिर्ता नभएसम्म उहाँ संवैधानिक परिषदको बैठकमा जानुहुन्न। त्यसैले आजको बैठकमा सहभागी हुनुहुन्न।’
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई बैठकबारे जानकारी नै नआएको उनको सचिवालयले जनाएको छ। सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपाने भन्छन्, ‘बैठकबारे केही जानकारी आएको छैन।’ यस अघि दुई पटकसम्म प्रधानमन्त्री ओलीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेका थिए।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले दबाब दिइरहेको छ।