नेकपा स्थायी कमिटी बैठक सकियो,गर्यो यस्तो निर्णय

नेकपा स्थायी कमिटी बैठक सकियो,गर्यो यस्तो निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सकिएको छ। बैठकले मंगलबार सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने गरी निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। 

'संवैधानिक परिषद्को कामकाज सम्बन्धनमा हिजो अध्यादेश जारी गरिएको थियो', श्रेष्ठले भने, 'सरकारले जारी गरेको अध्यादेश सरकारले फिर्ता लिने निर्णय स्थायी कमिटी बैठकले गरेको छ।'

प्रवक्ता श्रेष्ठले संसद अधिवेशन माग गर्दै केही सांसदहरुले राष्ट्रपति कार्यालयमा दर्ता गर्न लगेको हस्ताक्षरसहितको निवेदनमा पनि सर्वसम्म फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।

'अध्यादेश फिर्ताको निर्णयसँगै आज हाम्रा केही सांसदहरुले संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष अघि बढाएको आवेदन प्रक्रिया पनि फिर्ता लिने निर्णय भएको छ', उनले भने, 'यससँगै अब अर्को स्थायी कमिटी बैठक पुस ५ मा बस्‍ने छ। पुस ५ का लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस १० सम्मका लागि सारिएको छ।'

प्रवक्ता श्रेष्ठले मंगलबार साँझ बसेको भनिएको संवैधानिक परिषद्को बैठक कुनै किसिमको नियुक्तिको सिफारिस नभएको जानकारी प्रधानमन्त्रीले दिएको पनि बताएका छन्।