काठमाडाैं । संवैधानिक परिषद् बैठक सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेको बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना सदस्यको बैठक बसेको थियो।
सापकोटा र देउवा उपस्थित नभएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठक बसेको थियो। सो बैठकमा संवैधानिक निकायहरुमा नियुक्तिबारे छलफल भए पनि त्यसका निर्णयबारे केहि सार्वजनिक गरिएको छैन।
आज मंगलबार बिहान बसेको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा बैठकका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले पुनः आजै साँझ ५ बजेका लागि बैठक डाकेका थिए। त्यसपछि दिउँसो सरकारले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम तोकेर अध्यादेश ल्याएको थियो । सो अध्यादेश ल्याएपछि बिहान बैठकमा उपस्थित भएका प्रतिपक्षी दलका नेता देउवा समेत साँझको बैठकमा अनुपस्थित रहे।
यता बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । ओली संवैधानिक परिषदको बैठक सकेर शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ ।