देव गुरुङलाई संसदीय मुख्य सचेतकबाट राजीनामा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

देव गुरुङलाई संसदीय मुख्य सचेतकबाट राजीनामा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका मुख्य सचेतक देव गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी ओलीले उनलाई राजीनामा गर्न निर्देशन दिएका छन्। तर गुरुङले आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफ फर्काएको स्रोले बतायो ।

प्रधानमन्त्री ओलीले  दुई दिन अघि बालुवाटारमा बोलाएर गुरुङलाई राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको सुनाएको स्रोतले बतायो।

गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको उत्तर दिएका थिए।

प्रधानमन्त्रीसँग भएको वार्ता र आफूलाई दिएको तर्कबारे गुरुङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी दिएका थिए । नेकपाभित्रको दुई समूहले एकले अर्को समूहलाई निषेध गर्दा पार्टी एकता धरापमा परेको छ ।