ओलीले पार्टीमा छलफलै नगरी बोलाए संवैधानिक परिषदको बैठक, प्रचण्ड-नेपाल पक्ष आक्रोशित

ओलीले पार्टीमा छलफलै नगरी बोलाए संवैधानिक परिषदको बैठक, प्रचण्ड-नेपाल पक्ष आक्रोशित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै सल्लाह नै नगरी संवैधानिक परिषद बैठक बोलाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आक्रोशित बनेको छ । पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटी बैठक बसिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा परिषदको बैठक बोलाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रुष्ट बनेको हो ।

प्रचण्डले आफूनिकट नेताहरूसँग ओलीले पार्टी फूटका लागि थप आधार तयार गरेको भन्दै पार्टीमा देखिएको संकट थप गम्भीर मोडमा पुगेको बताएका छन् । 'यसअघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, ओलीजी र मसमेत बसेको बैठकमा सहमतिमै संवैधानिक परिषदको बैठक बोलाउने कुरा भएको थियो,' प्रचण्डको भनाइ उदृत गर्दै उनीनिकट एक नेताले भने, 'संकट समाधानका लागि भन्दै पार्टीको बैठक चलिरहेको छ । त्यही बीचमा ओलीजीले बिना छलफल र सहमति परिषदको बैठक बोलाउनु भएको छ । उहाँ एकतातिर होइन फूटको दिशातर्फ अग्रसर देखिनुहुन्छ ।'

ओलीकै आग्रहमा सहमतिका लागि भन्दै आफूहरूले कहिले एक हप्ता, कहिले ३ दिन बैठक सारेको तर ओलीले प्राप्त समयलाई सदुपयोग गर्नुको साट्टो दुरुपयोग मात्र गरिरहेको प्रचण्ड-नेपाल पक्षको निष्कर्ष छ । प्रचण्डनिकट ती नेताले भने, 'ओलीको यस्तो एकलौटी र स्वेच्छाचारी प्रवृत्तिबाट पैदा हुने समस्याको जिम्मेवारी उनी नै हुनुपर्छ भन्ने अध्यक्ष प्रचण्ड लगायत बहुमत पक्षको निष्कर्ष छ ।'

यसअघि ओलीले आइतवार परिषदको बैठक बोलाएका थिए । कांग्रेस सभापति देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । ओलीले मंगलवार बिहान ९ बजे परिषदको बैठक बोलाएका छन् ।