काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादको पेट्रोल र जनताको बहुदलीय जनवादको डिजेल हाल्दा नेकपाको इञ्जिन सिज भएको टिप्पणी गरेका छन् । उनले नेकपाको सरकार बनेपछि स्थिरता आउँछ भन्ने भ्रम टुटेको बताए ।
मकवानपुरको हेटौंडामा कांग्रेसले आयोजना गरेको विरोध सभालाई सोमवार सम्बोधन गर्दै प्रवक्ता शर्माले नेकपाको एकता सिद्धान्तमा आधारित नभएको बताएका हुन् । ‘माओवादको पेट्रोल र जनताको बहुदलीय जनवादको डिजेल हाल्दा नेकपाको इञ्जिन के होला रु यातायात क्षेत्रका साथीहरूले भन्नुहोला, नेकपा इञ्जिन सिज भयो, यसले काम गर्दैन,’ प्रवक्ता शर्माले भने ।
कांग्रेस प्रवक्ता शर्माले सरकारको अकर्मण्यता, भ्रष्टाचार र जनतामा निराशा लगायत पाँचवटा कारणले सडकमा आएको बताए । ‘मधेशमा राजु सदा, काठमाडौंमा नाम्लो हातमा लिएर सूर्यबहादुर तामाङको मृत्यु भएको छ, उनीहरूको मृत्यु किन भयो भनेर प्रश्न सोध्न हामी सडकमा आएका छौं,’ प्रवक्ता शर्माले भने ।