ओली र प्रचण्डबीच बालुवाटारमा भेट, के भयो कुराकानी ?

ओली र प्रचण्डबीच बालुवाटारमा भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ। नेकपाको विवाद थामिने संकेत नमिलिरहेका बेला अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। नेकपाको स्थायी कमिटी बैठक यही २८ गते बस्‍न लागेको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको हो। 

यसअघिको स्थायी कमिटी बैठकमा ओलीले चिठी पठाए पनि आफू उपस्थित भएका थिएनन्। उक्त भेटवार्ताका क्रममा दुई नेताबीच एक घण्टासम्म संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

यअसघि गत शुक्रबार पनि दुई अध्यक्षबीच भेट भएको थियो। शनिबारको सचिवालय बैठकअघि उनीहरुबीच सम्वाद भएको थियो। त्यसबेला करिब २५ दिन लामो संवादहीनता दुई नेताले तोडेका थिए। 

विवाद चुलिएका बेला दुई नेताबीचको संवाद कम भएको छ। यही विवादबीच पहिले प्रचण्ड र त्यसपछि ओलीले पार्टी सचिवालयमार्फत आफ्ना राजनीतिक प्रस्ताव पेश गरेका छन्। दुबै प्रस्ताव जानाले झनै नेकपामा विग्रह ल्याउने संकेत दिएको छ। 

ओली अझै पनि प्रचण्डको प्रस्तावमा छलफल नगर्ने अडानमा छन्। सात दिनका लागि स्थायी कमिटी बैठक रोकिएको अवस्थामा नेताहरुबी विभिन्‍न कोणबाट छलफल भइरहेको छ। यही सन्दर्भमा ओली र प्रचण्ड पनि संवादमा जुटेका हुन्।