काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीनिकटका नेताहरु सहभागी हुने भएका छन्। बैठकमा ओलीको उपस्थिति अनिश्चित भए पनि उनीनिकटका नेताहरुले भने सहभागी हुने बताएका हुन्।
पार्टी कार्यालय सचिव श्रीराम ढकालले पनि बैठक १ बजे धुम्बाराहीमा बस्न सबै तयारी गरिसकिएको र सबैलाई खबर गरिसकिएको बताए। गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो। तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो।
बैठकप्रति अध्यक्ष ओली सकारात्मक छैनन्। उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन्। शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उनले रुची देखाएका छैनन्। बैठकमा उनी आउने वा नआउने बारे पनि निश्चित छैन।