काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बालुवाटारमा जारी छ । बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन्। बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो।
सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि छलफल भैरहेको छ ।
नेकपा अध्यक्ष ओली र ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।
प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।
ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्।