नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री उपस्थित होलान् ?

नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री उपस्थित होलान् ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज शनिबार तय गरिएको सचिवालय बैठक तोकिएको समयमै बस्ने बताएका छन् । बैठक अपरान्ह १ बजे बस्दैछ । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली  उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो।  

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो।  प्रवक्ता श्रेष्ठले बैठकमा प्रधानमन्त्री आउने र छलफल हुने बताए। ‘आज बैठक बस्छ, प्रधानमन्त्री आउनुहुन्छ र छलफल हुन्छ, आउनु भएन भने के हुन्छ भन्ने हाइपोथेटिकल कुरा नगरौं,’ उनले भने। 

यसअघि प्रधानमन्त्रीको सचिवालयले आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुने नहुने निश्चित नभएको जनाएको थियो। ‘प्रचण्ड कमरेडले बैठक बोलाउनु भएको हो, प्रधानमन्त्री उपस्थित हुनुहुन्छ कि के गर्नुहुन्छ भन्न सकिएन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।