छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक भएः परराष्ट्रमन्त्री ज्ञवाली

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक भएः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।

भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए ।

भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।

यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी बताए ।