खुमलटार पुगेर ईश्वर पोखरेलले प्रचण्डलाई गरे यस्तो आग्रह

खुमलटार पुगेर ईश्वर पोखरेलले प्रचण्डलाई गरे यस्तो आग्रह

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जानेक्रम बढेको छ । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका छन् । उनले ओलीको सन्देश बोकेर खुमलटार पुगेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।

भेटमा पोखरेलले साझा प्रतिवेदन तयार गर्न आग्रह गरेका थिए । सचिवालयमा पेश भएका दुबै प्रतिवेदन फिर्ता गरेर पार्टी एकता बचाउन उनले खाग्रह गरेको स्रोतले बतायो । 

साथै पोखरेलले ओलीको सन्देश भन्दै महाधिवेशनमा एकल अध्यक्ष बन्नेलाई सघाउन ओली तयार रहेकोले जारी विवादलाई थाति राखेर महाधिवेशनमार्फत समस्षको हल गर्न आग्रह पनि गरेका थिए । 

हिजो पनि महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने कोसिस जारी राखेको छ । ।

प्रचण्ड र माधव नेपाल समूह भने सचिवालयमा जारी दुबै प्रतिवेदनमा छलफल गरेर विवादको समाधान गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरुले ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने अडानलाई कायमै राख्ने निर्णय पनि गरेका छन् ।