कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो। पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका छन्।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा लिएको हो। व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो। नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि जिल्ला प्रशासनले सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको हो।