काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्नसक्ने बताए।
‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक बस्न सकेन, अब २ बजेतिर बस्छ होला’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित भएको वा सारेको भन्ने चाहिँ होइन।’
मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो। प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा ओलीले पेश गरेको दुबै प्रस्तावलाई सचिवालय बैठकमा छलफल गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबारको बैठकमा विवाद भएको थियो।
अध्यक्ष प्रचण्डसहित ७ जना सचिवालय सदस्यले दुबै प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुपर्ने सुझाव दिएपछि आजको लागि बैठक तय गरिएको थियो। तर, उठ्ने बेलामा अध्यक्ष ओलीले आफू बैठकमा सहभागी नहुने बताएका थिए । ओलीले १० दिनजति अनौपचारिक छलफल गरेर बैठक बस्ने बताएका थिए ।